दैलेख : संघीयतापछि पहिलो पटक ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सरकारकार सञ्चालनमा पुगेका प्रतिनिधिहरूले आफ्नो स्वार्थ सिद्धिका लागि नियम विपरीत सरकारी सम्पत्तिको अपचलन गर्ने गरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना हुने गरेको थियो ।
उनीहरूले नियम, ऐन विपरीत सेवा लिने, आफ्ना नजिकका राजनीतिक कार्यकर्ताहरूलाई स्थानीय सरकारबाट हुने÷गरिने कामहरू दिन लगाउने लगायतका कार्य गर्नाले विवादमा पर्ने गरेका स्थानीय सरकारका प्रतिनिधिबाट नागरिक निराश हुँदै आएका थिए ।
तर ०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पछि गाउँका सरकार सञ्चालनमा पुगेका नयाँ प्रतिनिधिहरू नागरिकको सहजताका लागि उद्धत हुने गरेकाले गाउँका सरकार सञ्चालनमा नयाँ रक्तसञ्चार हुने आशा नागरिकमा देखिन्छ ।
यहाँका ११ वटा स्थानीय तह मध्ये दैलेखको गुराँस गाउँपालिकाले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सहज बनाउने उद्देश्यले घरदैलोमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई तिव्रता दिएपछि नागरिकमा स्थानीय सरकार प्रतिको आशा बढ्दै गएको पाइन्छ ।
ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता लिन सहज होस भन्ने उद्देश्यले बैङ्कसँगको समन्वयमा घरदैलोमा सेवा पु¥याउँदा नागरिकले खुसी व्यक्त गरेका गुराँस गाउँपालिका–८ का वडा अध्यक्ष अध्यक्ष दीपेन्द्र ओलीले बताए । यसअघि बैङ्कमार्फत भत्ता दिने व्यवस्था रहेकोमा अहिले टोल–टोलका घरदैलोमा वितरणको प्रबन्ध मिलाउँदा बृद्ध नागरिकलाई सहजता देखिन्छ ।
आफ्नै घर आँगनमा सामाजिक सुरक्षा भत्ता बुझ्न पाएको भन्दै गुराँस–८ का ज्येष्ठ नागरिक लालबहादुर गैरेले खुसी व्यक्त गरे । ‘बैक टाढा हुँदा भत्ता लिन जान एक दिन पुरै लाग्थ्यो, बैङ्कमा लाइन लाग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यसपालि गाउँमै भत्ता बुझ्न पाइयो । मजस्ता ज्येष्ठ नागरिकलाई निकै सुबिस्ता भयो ।’
बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा पालिकाले बैङ्कको चाप, भौगोलिक विकटता, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी वडा स्तरमा भत्ता दिने व्यवस्था गरिएको वडा अध्यक्ष ओलीको भनाई छ ।
बैङ्कको घुम्ती शिविरमार्फत वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेकोमा बैङ्कको तयारी नपुगेकोले सबै वडा कार्यालयमार्फत वितरण सहज बनाइएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए । प्रभु बैङ्कको प्रदेश कार्यालयले गुराँसमा घुम्ती शिविर सञ्चालनका लागि व्यवस्थापकीय काम पनि सुरु गरेको जनाइएको छ ।
संघीय शासन प्रणालीको मुख्य उद्देश्य भनेको जनताको घरदैलोमा सहज र प्रभावकारी सेवा प्रदान गर्नु रहेकाले दैलेखका विभिन्न स्थानीय सरकारहरू सर्वसाधारण नागरिकहरूका समस्या तिर केन्द्रित भनेका देखिन्छन् ।
नागरिकले आफ्नो गाउँठाउमा बनेको नयाँ स्थानीय सरकारले राम्रो गरोस्, आफ्नो गाउँठाउको विकास र समृद्धिमा विशेष ध्यान दिन सकोस् र आफूहरूलाई प्रभावकारी सेवा सुविधा दिन सकोस् भन्ने चाहनामा छन् ।











